जर्मनीका विद्यार्थीले तयार पारे एक पटकको चार्जमा २५ सय किलोमिटर रेञ्ज दिने विद्युतीय गाडी

भदौ २९-जर्मनी,  जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिख (टीयूएम) का विद्यार्थीले एक पटकको चार्जमा सबैभन्दा बढी दूरी पार गर्ने विद्युतीय गाडी तयार पारेर विश्व रेकर्ड राखेका छन् । युनिभर्सिटीको ‘टीयू फास्ट ईको’ टिमले तयार पारेको ‘एमयूसी२२’ गाडीले सिङ्गल चार्जमा २५७५.७९ किलोमिटर (१५९९.२७ माइल्स) दूरी पार गरेर विश्व रेकर्ड राखेको हो ।

यो कीर्तिमान कायम गर्न सो टिम त्यसअघि नै अन्य थुप्रै प्रतिस्पर्धामा सहभागी भइसकेको थियो । विद्यार्थीहरूले गाडीमा १५.५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरेका थिए । गाडीलाई यति हलुका बनाइएको थियो कि, त्यसको तौल १७० किलो (२७४ पाउन्ड) मात्र थियो । त्यसमा भएको सिनक्रोनस मोटरको क्षमता जम्मा ४०० वाट थियो ।

 

त्यसअघि एक पटकको चार्जमा १६०८.५४ किलोमिटर (९९९.५ माइल्स) दूरी पार गरेर सात ओटा ड्राइभरको टिमले सबैभन्दा बढी रेञ्ज दिने गाडीको रेकर्ड राखेका थिए । यो गाडीलाई उक्त रेकर्ड राख्न चार दिन लागेको थियो ।

चार दिनमा पनि ब्याट्री पूर्ण रूपमा सकिएको भने थिएन । टीयू फास्ट ईको टिमले जर्मनीको म्युनिख विमानस्थललाई खाली बनाएर त्यसैमा गाडी गुडाएर पहिलेको रेकर्ड तोडेका थिए । यसका लागि सो टिमले ९९ घण्टा बिताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

एआरएस टेक्निकाका अनुसार गत हप्तामात्र स्वीस टिमले शून्यदेखि १०० किलोमिटरको प्रवेग ०.९५६ सेकेन्डमा हासिल गरेर विश्व रेकर्ड राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्