विमानस्थलबाट साढे ८ लाख रुपैयाँसहित एक जना पक्राउ

भदौ ८-काठमाण्डौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ लैजान लागेको साढे आठ लाख रुपैयाँसहित फिलिपिन्सका नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा फिलिपिन्सका ३२ वर्षीय नागरिक आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रुपैयाँसहित उनलाई बिहीवार हिजो पक्राउ गरेको हो ।

 

फ्लाई दुबईको उडानद्वारा काठमाण्डौबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पैसासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्