दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ७ जना पक्राउ

भदौ ४-तुलसीपुर,  दाङमा एक व्यक्तिलाई अपहरण गरि बन्धक बनाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १९ का ३२ वर्षीय दिपक सुनार, सोही ठाउ निवासी २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिम बहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ । अन्य दुईजना भने १३ वर्षीय बालक रहेकाले नाम खुलाइएको छैन । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १३ डुम्मरगाउं निवासी ४१ वर्षीय जित बहादुर बिकलाई अपहरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

हिजो आइतबार राती साँढे १० बजेको समयमा ती ७ जनाको समुहले बिकलाई घरबाटै फिल्मी शैलीमा अपहरण गरी अटो रिक्शामा राखी घोराही १९ थप्ली डाँडामा लागि निर्घात कुटपिट गरेका थिए । पक्राउ परेको समुहले व्यक्तिगत रिसिभीका कारण कुटपिट गरेको पाइएको छ । कुटपिटबाट घाइते भएका बिकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनालाई अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्