श्रावन २४-सङ्खुवासभा, कारागार शाखा सङ्खुवासभामा कैद भुक्तान गरिरहेका दुई जना कैदीको ज्यान गएपछि प्रहरीले नौ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
कारागारभित्रका कैदीको कुटपिटबाट उनीहरूको ज्यान गएको आशङ्कामा प्रहरीले नौ जनामाथि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अरू कैदीहरूले उनीहरूमाथि आशङ्का गरेपछि आफूहरूले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको उहाँले बताउनुभयो ।
हिजो मङ्गलवार नुवाकोटकाे ककनी गाउँपालिकाका २८ वर्षका आकाश बलामी र विनोद तोलाङ कारागारबाट भाग्न खोजेका थिए । तर प्रहरीले थाहा पाएपछि लगत्तै पक्राउ गरी फेरि कारागार नै पठाइएको थियो । तर बिहान कारागारभित्रै बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्याएकोमा अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
स्रोतः उज्यालो
प्रतिक्रिया दिनुहोस्