श्रावन २१- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए ।
दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयवासीको भीड लागेको स्थानीय दीपानन्द गुप्ताले बताए ।
स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताइन् । मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए
स्रोतः धनगढी खबर
प्रतिक्रिया दिनुहोस्