महिलालाई यौन शोषण र घरजग्गा कब्जा गर्ने एक जना पक्राउ

काठमाण्डौं,१३ साउन । ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ । पाच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिनुभएको थियो । सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिर्नुभएको थियो ।

 

 

ऋणको साँवा घटाउने उद्देश्यले उहाँले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिनुभएको थियो । तर सुर्जमानले भने साँवाको सट्टा ब्याजमात्रै कटाएर ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे । पैसा तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने भन्दै सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेका थिए । पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे हिजो दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि प्रहरीले सुर्जमानलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्