धनगढीबाट एक महिलासहित दुई क्लिनिक सञ्चालक पक्राउ

कैलालीको धनगढीबाट एक महिलासहित दुई जना क्लिनिक सञ्चालक पक्राउ परेका छन्।

 

गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ परेको हो। पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र धनगढी उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका सञ्चालक गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन्।

 

धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु सञ्चालन भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो। टोलीले गरेको अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक सञ्चालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो।

 

क्लिनिक सञ्चालक विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्