यूरोप पठाइदिन्छु भन्दै करोडौँ ठगी

झापा, ८ साउन । यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, माल्टा, पोर्चुगल, पाराग्वे, सर्बिया लगायतका देशमा रोजगारीका लागि पठाई दिने भन्दै २ करोड ५८ लाख भन्दा बढी ठगी गरेर गिरोह फरार भएको हो ।

 

बानेश्वरमा एक घर भाडामा लिएर कनेक्टियर बर्ड कन्सल्टेन्सी खोलेका अजित तामाङ, सागर कुमाल लगायतका व्यक्तिहरू फरार भएका हुन् । उनीहरूकै समूहकी कमलादेवी सुवेदी भने यतिबेला पुर्पक्ष लागि थुनामा छिन् ।

 

वैदेशिक रोजगार विभागको पत्रको आधारमा प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्रियता नदेखाएको पीडितहरूको गुनासो छ । पीडितहरूले उक्त कन्सल्टेन्सीले रोमानिया पठाई दिने भन्दै साढे ५ लाख रूपैयाँ मागेको थियो । त्यसमध्ये साढे तीन लाख रूपैयाँ उनीहरुले दिएका थिए । त्यसरी ठगिनेमा काभ्रेको एउटै परिवारका आमा, छोरी–ज्वाई, मामा लगायतका परेका छन् ।

 

त्यस्तै, विभिन्न जिल्लाका ९५ जनासँग रोमानिया, पोर्चुगल, माल्टा लगायतका देशमा पठाईदिने भन्दै ५ लाखदेखि १५ लाख रूपैयाँ मागेको पाइएको हो । आफू ठगिएको थाहा पाएपछि उनीहरूले विभागमा उजुरी दिएका थिए । उजुरीको आधारमा विभागले प्रहरीमार्फत् कमलादेवीलाई पक्राउ गरेको थियो । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंका सदस्यद्वय प्रेमकुमार राई र उद्धवप्रसाद पुडासैनीको इजलासले उनीहरूलाई कसुरदार ठहर गरेको थियो ।

 

स्रोतः रातोपाटी

प्रतिक्रिया दिनुहोस्