अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

असार २७-सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित सोही टोल बस्ने जुम्ला चन्दननाथ नगरपालिका-६ घर भएकी २२ वर्षीया राधिका बुढालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हरियाली टोलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-१ हिले बजारबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ६ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथरजोरपाटी गाउँपालिका-२ गुराशे बस्ने २० वर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ बस्ने २८ वर्षीय रुबिन राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० पशुपतीनगर डेरा गरी बस्ने मिग्लाजुङ गाउँपालिका-३ घर भएका २५ वर्षीय दिलीप थापालाई नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्कीसहित मंगलबार साँझ ईलाका प्रहरी कार्यालय पथरीमाबाट खटिएको प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका-४ चियादोकानस्थित डम्बर ग्यारेजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित  सोही नगरपालिका-७ बस्ने २९ वर्षीय कुशल राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ग्यारेजमा मर्मतको लागि राखिएको को.१ ख ७८१६ नम्बरको गाडीमा लागूऔषध बेचविखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै बेचविखनमा संलग्न हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

  यसैगरी झापा, दमक नगरपालिका-२ घर भई सोही नगरपालिका-८ डेरा गरी बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, डिजिटल तौल मेसिन १ थान र ९ हजार रुपैयाँसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय दिपक साह र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय रेशम गौतम रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खवासको कोठा तलासी गर्ने क्रममा बच्चालाई प्रयोग गरिने डाईफरभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ समेतका सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्