नेटोले युक्रेनलाई तत्कालै सामेल गर्न नसक्ने

उत्तर एट्लान्टिक सन्धी संगठन नेटोले युक्रेनलाई तत्कालै सामेल गर्न नसकिने स्पष्ट पारेको छ ।

 

लिथुआनियाको राजधानी भिल्नियसमा भएको नेटो राष्ट्रहरुको शिखर बैठकमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले तत्कालै युक्रेनलाई नेटोको सदस्यता दिन माग गरेका थिए । तर नेटो राज्यहरूले युक्रेन सैन्य गठबन्धनमा सामेल हुन सक्ने तर पूर्ण सदस्यताको लागि केही समय कुर्नुपर्ने बताएका हुन । आफ्नो देशलाई नेटोको सदस्यता दिन ढिलाई हुने देखेपछि जेलेन्स्कीले पश्चिमा देशले पर्याप्त सहयोग नगरेको र रुसलाई थप आत्मबल प्राप्त हुने काम गरिरहेको भन्दै आक्रोस पोखेका छन् । जेलेन्स्कीले नेटो सदस्य राष्ट्रहरुले बेतुकका तर्क सारेर आफ्नो देशलाई सदस्यता दिन अस्वीकार गरेको प्रतिक्रिया दिएका हुन ।

 

केही सदस्य राष्ट्रहरूले युक्रेन–रूस युद्ध थप बढाउन र लम्ब्याउन प्रोत्साहन दिन सक्ने डर रहेको पनि उनको भनाई छ । नेटोले सन् २००८ मै युक्रेन निकट भविष्यमा आफ्नो सदस्य हुने बताएको थियो । तर अहिलेसम्म पनि उसलाई सदस्यता दिइएको छैन । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले संगठनका सदस्य राष्ट्रका नेताहरूले सहयोगी राष्ट्रहरू सहमत भएपछि र सर्तहरू पूरा भएपछि युक्रेनलाई समूहमा सामेल हुन दिइने बताएका छन ।

 

युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफूमा सुरक्षा चुनौती थपिने भन्दै रुसले सदस्यता नलिन चेतावनी दिएको थियो । द्रुत प्रक्रियाबाट सदस्यता दिँदा रुसविरूद्ध घोषितरूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन । नेटो सन्धिअनुसार कुनै पनि सदस्य देशविरुद्ध आक्रमण भएमा सबै सदस्य देशले मिलेर त्यो देशको प्रतिरक्षा गर्नुपर्छ ।।

प्रतिक्रिया दिनुहोस्