२४ घण्टामा चार जिल्लामा चट्याङ पर्दा ६ जनाको मृत्यु

असार १० – बितेको २४ घण्टामा चार जिल्लामा चट्याङ पर्दा ६ जनाको मृत्यु भएको छ।

दाङ, दंगीशरण गाउँपालिका-६ बागर बस्ने ३२ वर्षीय समिर केसी र सोही गाउँपालिका-३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आ-आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कास्की, पोखरा महानगरपालिका-२३ हर्पन बस्ने ४९ वर्षीय देब बहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बाग्लुङ, ढोरपाटन नगरपालिका-५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ।

गुल्मी, मालिका गाउँपालिका-८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्