ग्रीसको तटमा पानी जहाज पल्टिँदा ८३ जनाको मृत्यु

दक्षिणी ग्रीसको तटमा पानी जहाज पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

 

दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि सवार रहेको बताइएको छ । राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तट रक्षकले जनाएको छ ।

 

डुबेकाहरूको खोजी कार्य आजबाट पुनः सुरु हुनेछ । दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७ सय ५० यात्रु सवार हुन सक्छन् । ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन् ।

 

ग्रिस सरकारले यो ग्रीसको सबैभन्दा ठूलो आप्रवासी त्रासदी मध्ये एक भएको भन्दै तीन दिनको शोकको घोषणा गरेको छ । प्रत्येक वर्ष सयौं मानिसहरूले भूमध्यसागर पार गर्ने प्रयासमा ज्यान गुमाउने गरेका छन् । फेब्रुअरीमा, दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको कट्रो नजिक आप्रवासीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तिमा ९४ जनाको मृत्यु भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्