सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–ट्वान्टी खेल्ने

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका भरपर्दा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

 

गएराती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो । सुरेमा सन्दीपका अलावा एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ जस्ता खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्र रसेल, क्रिस लिन जस्ता खेलाडी रहेका छन् । सन्दीपले यस अघिका दुवै सिजनको ग्लोबल टी–ट्वान्टी लिग खेलिसकेका छन् । पहिलो सिजन मोन्टेरियल टाईगरमा रहेका सन्दीप दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । दीपेन्द्र भने पहिलो पटक विदेशी लिग खेल्दै छन् ।

 

विदेशी लिग खेल्ने दीपेन्द्र छैटौं नेपाली खेलाडी हुन् । यस अघि नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागीता जनाईसकेका छन् । ग्लोबल टी–ट्वान्टी खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।।

प्रतिक्रिया दिनुहोस्