नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट आज पनि थुनछेक बहस हुने भएको छ ।

 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार सुरु भएको खाँणका कानुन व्यवसायीको बहस नसकिएकाले बुधबार पनि जारी रहने भएको हो । खाँणसहित यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १३ जनाको बहस भएको छ । अझै ५ जनाको थुनछेक बहस हुन बाँकी छ । अभियुक्त टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको अदालतले जनाएको छ ।

 

प्रतिवादीहरूका तर्फबाट बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । सरकारी पक्षको जवाफी बहसपछि अदालतले थुनछेक आदेश सुनाउनेछ । न्यायाधीश न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ । थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ । धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन् । जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन् ।

 

यो प्रकरणमा ३० जनालाई अभियुक्त बनाएर अभियोगपत्र दायर गरिएको छ । तीमध्ये १८ जना पक्राउ परेर हिरासतमा र १२ जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई संगठित अपराध, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार वटा अभियोग लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।।

प्रतिक्रिया दिनुहोस्