पाकिस्तानमा आँधीको कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरब सागरमा उत्पन्न भएको आँधी बिपरजोय द्रुत गतिमा अघि बढिरहँदा सम्भावित खतराबाट जोगाउन भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तको तटीय क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुजरात र सिन्ध प्रान्त दुवै अरेबियन सागरको तटसँग जोडिएका राज्यहरू हुन् ।

 

उत्तरी दिशातर्फ अघि बढिरहेको समुद्री आँधी बिपरजोय आज बिहान आफ्नो दिशा परिवर्तन गर्दै उत्तरपुर्वी दिशातर्फ अघि बढने र विहिवार भारतको गुजरात र पाकिस्तानको कराँची नजिकैको तटमा ठोक्किने पूर्वानुमान गरिएको छ । सिन्ध प्रान्तमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिने पाकिस्तानले जनाएको छ । बिपरजोयका कारण कराँचीमा एक सय १३ मिलिमिटरसम्म पानी पर्ने अनुमान छ । आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ ।

 

तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । यता भारतीय राज्यहरू केरल र कर्नाटकपछि अब गोवा, गुजरात र महाराष्ट्रमा बिपरजोयको प्रभाव देखिएको छ । बिपरजोयले पार्नसक्ने प्रभावलाई कम गर्न केन्द्रीय र राज्य सरकारका साथै भारतीय वायु सेना, नौसेना, तट रक्षक र विपत् व्यवस्थापन प्राधिकरण सहित सबै एजेन्सी मिलेर कार्य गरिरहेका छन । गुजरातको तटीय क्षेत्रबाट अहिलेसम्म २१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको छ भने विद्यालयहरू १५ जुनसम्मका लागि बन्द गरिएका छन् ।।

प्रतिक्रिया दिनुहोस्