अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पविरुद्ध गोप्य कागजातको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता

डोनाल्ड ट्रम्पविरुद्ध  गोप्य कागजातको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी  फौजदारी अभियोगमा मुद्दा दर्ता

अमेरिकाका बहुचर्चित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सरकारी गोप्य कागजातको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ ।

आफनो निजी सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्प स्वयंले यसबारे जानकारी सार्वजनिक गरेका हुन । मियामीको संघीय अदालतमा उनलाई हाजिर हुन भनिएको जानकारी गराउँदै ट्रम्पले अमेरिकी पूर्वराष्ट्रपतिविरुद्ध यस्तो पनि सम्भव हुनसक्छ भन्नेबारे आफूले कहिल्यै नसोचेको उल्लेख गरेका छन । ट्रम्पले आफू निर्दोष भएको दाबी गरेका छन् । राष्ट्रपति पदबाट मुक्त भएपछि पनि सरकारी गोप्य कागजात आफ्नो निजी निवासमा लगेर राखेकाले ट्रम्प अनुसन्धानमा तानिएका हुन् । केही महिनाको अन्तरालमा ट्रम्पविरुद्ध दायर गरिएको यो दोस्रो मुद्दा हो ।

ट्रम्पको मार अलागोस्थित निवासमा सरकारी गोप्य कागजात फेला परेको विषयलाई लिएर उनीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको र उनीमाथि सातवटा आरोप लगाइएको छ । ट्रम्पमाथि सरकारी गोप्य कागजात अनधिकृत रुपमा आफूसँग राखेको र न्याय प्रक्रियामा अवरोध पु¥याएकोलगायत आरोप लगाइएको जनाइएको छ । ट्रम्पविरुद्ध मुद्दा चलाइएको यो दोस्रोपटक हो भने कुनै पूर्वराष्ट्रपतिविरुद्ध संघीय सरकारले चलाइएको यो पहिलो मुद्दा हो ।

आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा होमिएका ट्रम्पका लागि यो अर्को झट्का मानिएको छ । ट्रम्पविरुद्ध गत अप्रिलमा एकजना पोर्न स्टारलाई आफूविरुद्ध मुख नखोल्न दिएको रकमबारे व्यावसायिक खातामा गलत ढंगले हिसाब मिलान गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…