एक सातामा मनसुन भित्रिने भएको छ । 

नेपालमा करिव एक सातामा मनसुन भित्रिने भएको छ ।

सामान्यतया जुन १३ मा मनसुन नेपालमा भित्रिने गरेको छ । बंगालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा बिहीबार भारतको केरलामा आइपुगेको मौसमविदले बताएका छन । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने विभागले जनाएको छ । केरला आएको मनसुनी न्यूनचापीय रेखा छिटो गरी आउँछ वा ढिला यात्रा गर्छ भन्नेले मनसुन भित्रिने मिति तलमाथि हुनसक्दछ । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ ।

नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ । केही जिल्लामा त अहिलेसम्मकै उच्च भएको छ । तत्काल वर्षाको सम्भावना नरहेकाले तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च मापन भएको छ । दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा यो जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड बनाउन थालेको हो । तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार÷पाँच दिन गर्मी यस्तै रहने बताइन्छ । गर्मी बढेसँगै बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् ।

गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएका छन ।।

प्रतिक्रिया दिनुहोस्