आज शेयर बजारमा उछाल आएको छ ।

बजेटमा व्यवस्था गरिएको शेयर खरीद विक्रीमा कर वृद्धिबाट सरकार पछि हटेपछि आज शेयर बजारमा उछाल आएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको नयाँ कर व्यवस्थाले घटेको बजार सरकार सो निर्णयबाट पछि हटेपछि साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । आज अर्थ मन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५३.०३ अंक बढेर १९१९.३७ विन्दुमा पुगेको छ । आज २७० स्टकको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज आइएमइ जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । आज १७ स्टकको मात्र मूल्य घटेको छ । यद्यपि सबै स्टकको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोल्टी होटलको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्