खोलामा डुबेर एक बालकको मृत्यु

रोल्पामा फेरी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाँउपालिका १ यारी निवासी प्रताप बुढामगरका १० बर्षका छोरा मनोज बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार अर्का एक बालकसँग मनोज सिवाङ खोलामा नुहाउन गएका थिए । सोही खोलामा पौडि खेल्ने क्रममा उनको पानीमा डुबेर शुक्रबार दिँउसो ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा डुबेका बालक बुढालाई स्थानियहरुले पानीवाट निकालेर अस्पताल लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । साथै घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । यो भन्दा ५ दिन अगाडी मात्रै रोल्पाको माडी गाउँपालिका ५ एनावाङ निवासी पौख बहादुर घर्तीकी १४ वर्षीया छोरी मनमाया घर्तीको पनि खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्