नेपालको वार्म अफ म्याच टेष्ट राष्ट्रसँग नराखेको भन्दै क्यानले गर्यो आईसीसीको ध्यानाकर्षण

क्रिकेट विश्वकप छनोट अन्तर्गत नेपालको वार्म अफ म्याच टेष्ट राष्ट्रसँग नराखेको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको थियो । जसमा हरेक टिमले दुई–दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ । नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गर्दै आईसीसीलाई पत्र पठाएको बताउनु भयो । नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ । एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटा–एउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् । जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रहेको समूह एमा पूर्व विश्व विजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बावेसहित नेदरल्याण्ड्स र अमेरिका छन् । यस समूहको खेल हरारेमा हुनेछ । नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग पहिलो खेल हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्