बुद्ध एअरको जहाजमा मुरा पस्यो, उडान स्थगित

जनकपुरदेखि काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

उक्त जहाज काठमाण्डौ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ बजेर १५ मिनेटमा जनकपुरबाट काठमाण्डौ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक जाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । जहाज काठमाडौैबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए ।

प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाण्डौबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताउनुभयो । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार अहिले इन्जिनियरले जहाजको जाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । त्यस जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्