भारतीय नागरिकलाई हतियारसहित पक्राउ

महोत्तरी जिल्लाको हलखोरीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा भारत सितामढीको बाजपट्टी बस्ने वर्ष २५ को पप्पु यादव हुनुहुन्छ ।

प्रहरी चौकी हलखोरीको प्रहरी सहायक निरिक्षक रामेश्वर प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरीहरुले शनिबार राति चेकजाँचको क्रममा भारतबाट बिआर३०वाइ९१४२ नम्बरको मोटरसाइकल चढी आइरहेका पप्पुलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट एक थान सानो पेस्तोल र त्यसमा प्रयोग हुने पाँच राउण्ड गोली बरामद गरेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताउनुहुँदै प्रवक्ता गिरिले यादवमाथि हातहतियार तथा खरखजाना सम्वन्धी मुद्दा चलाइने जानकारी दिनुभयो ।

एक महिना अगाडी मात्रै पप्पु यादव हलखोरीमा एक स्थानीयलाई कन्चटमा पेस्तोल तेस्र्याउँदै मार्ने धम्कीसमेत दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्