पेस्तोल देखाएर आतंक मच्चाउनेविरुद्ध अनुसन्धान

नेपालगन्जको एउटा डान्सबारमा पेस्तोल देखाएर आतंक मच्चाउनेविरुद्ध अनुसन्धान थालेको बाँके प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गरेको छ ।

मंगलवारराती पक्राउ बर्दियास्थित बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका–५ का ३२ वर्षीय सागर शाह र कोहलपुर नगरपालिका–९ का २९ वर्षीय धर्म पुनलाई विहीवार म्याद थप गराइएको हो ।

नेपालगन्जको धम्बोझी नजिक सुर्खेतरोडमा रहेको डान्सबार किङक्रसमा मेडइन युएसए लेखिएको एक राउण्ड गोली स्वचालित पेस्तोल देखाएर आतंक मच्चाएको आरोपमा उनीहरु पक्राउ परेका थिए । प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको बा ११ च ८०० नम्बर कार, १७.५ मन्च लामो खुकुरी समेत बरामद गरेको थियो ।

रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ । मुलुकी अपराध (संहित) ऐन, २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सुमन यसभन्दा अघि ज्यान मार्ने उद्योग मुद्दामा गत भदौ पक्राउ परी धरौटी तारेखमा छुटेका थिए, भने धर्म पनि २०७४ फागुन १८ गोली हानी ज्यान मार्ने उद्योग गरेको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल फरार रहेर पछि अदालतबाट धरौटी तारेखमा छुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्