रियल ९ वर्षपछि कोपा डेल रे च्याम्पियन

काठमाडौं । ओसासुनालाई पराजित गर्दै रियल म्याड्रिडले ९ वर्षपछि स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ ।

सेभियामा शनिबार राति भएको खेलमा रियलले ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको हो । कोपा डेल रेको २० औं पटकको च्याम्पियन रियलले सन् २०१४ पछि पहिलो पटक उपाधि जितेको हो । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधि जित्नबाट चुक्यो ।

रियललाई उपाधि जिताउन रोड्रिगोले दुवै गोल गरे । लुकास टोरोले एक गोल फर्काएपनि ओसासुनालाई च्याम्पियन बनाउन परियमाप्त हुन सकेन ।

खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ५८ औं मिनेटमा लुकासले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्