संकटाविरुद्ध मच्छिन्द्रको रोमाञ्चक जित

काठमाडौं। साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीवार संकटलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर एनकेनगुएले एक गोल फर्काउनुभयो । अविरल वर्षासँगै हिलाम्मे मैदानमा भएको प्रतिष्पर्धामा मच्छिन्द्रले चौथो मिनेटमा दवबेन्द्र तामाङको गोलबाट अग्रता लिएको थियो ।

६९औं मिनेटमा ओलावालेले मछिन्द्रको अग्रतालाई दोब्बर बनाउनुभयो । ओलावालेले शौरव लिम्बूको क्रसलाई गोलमा परिणत गरेका थिए । ७८औं मिनेटमा संकटाका जुनियरले गोल गर्दा खेल २–१ को स्थितीमा पुगेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित निश्चित गराउनुभयो । यससँगै मच्छिन्द्रले संकाटबिरुद्ध दुवै खेलमा जित निकाल्न सफल भएको हो । पहिलो लेगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । यस जितसँगै मच्छिन्द्र १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजासहित २१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

पराजय ब्यहोरेको संकटा समान खेलबाट ४ जित, ४ बराबरी र ६ हारको नजितासहित १६ अंकका साथ ११औं झरेको छ । लिग अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा शुक्रवारबाट १५ औं चरणका खेल हुनेछन् । जस अन्तर्गत जावलाखेल रखुमलटार युथ क्लवले एन्फा मुख्यालयमा प्रतिष्पर्धा गर्दा दोस्रो खेल नेपाल पुलिस र हिमालयन शेर्पाबीच च्यासल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्