कोशी प्रदेश आन्दोलनका एलभी फोर्सका १३ जना कार्यकर्ता पक्राउ

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ ।

प्रदेशसभा घेराउ गर्ने उद्देश्यले विराटनगरस्थित देवकोटा चोकमा जम्मा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएके छ । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्