ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक समूह नेपाल’ घोषणा

१३ चैत- काठमाडौं,  पत्रकारिता छोडेर राजनीतिमा सक्रिय बनेका ऋषि धमलाको नेतृत्वमा ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै धमलाले समूहको घोषणा गरेका हुन् ।

समूहको अध्यक्षमा धमला र सचिवमा हेमराज अधिकारी रहेका छन् । समूहले बालेन साह नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ । नयाँ सरकारसँग मिलेर काम गर्ने भन्दै समूहले ३१ बुँदे सहयात्रा पत्र पनि तयार पारेको छ ।

कार्यक्रममा धमलाले अब जनताले समयमै काम र तत्काल परिणाम खोजेको भन्दै नवनियुक्त प्रधानमन्त्री बालेन साहलाई जनताले पनि एक्सन ओरिएन्टेड प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताए । उनले अभियानमा देशभरिका युवा जोडिएको र यसलाई राष्ट्रव्यापी बनाउने पनि बताए । यो अभियानलाई आफूहरुले ७५३ वटै तहमा लैजाने र वडा तहसम्म विस्तार गर्ने पनि उनले योजना सुनाए ।

धमलाले भने,‘हाम्रो काम भनेको सरकारलाई सहयोग गर्ने हो । जनताको चाहनअनुसार काम गर्न सरकारलाई समर्थन गर्ने र सफल बनाउने हो । जनताको काम गर्नको लागि सरकारलाई घचघचाउने हो । जनादेशबाट बनेको सरकार हो, यो सरकारसँग मिलेर काम गर्नुपर्छ । अहिले सरकारको विरोध गर्ने होइन ।’

प्रतिक्रिया दिनुहोस्