१७ फागुन-काठमाडौं, नेपाली सेनाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षामा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ
विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९’ तथा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सम्पूर्ण सुरक्षा कार्य सञ्चालन भइरहेको जानकारी दिइएको छ । मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि र नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसअघि वि.सं. २०६४ सालदेखि सम्पन्न सबै निर्वाचनमा नेपाली सेना परिचालन हुँदै आएको स्मरण गराउँदै विज्ञप्तिमा मतदान केन्द्रको सुरक्षा, काठमाडौंस्थित केन्द्रदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो घेराको सुरक्षा तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख छ ।
नेपाली सेनाले विगतझैँ यस पटक पनि शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन सुनिश्चित गर्न सबै पक्षसँग समन्वय गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्