रास्वपाले वाचापत्रबाट जनायोेः १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

७ फागुन- काठमाडौं, बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले फागुन २१ गतेको चुनावका वाचापत्र सार्वजनिक गरेको छ ।

वाचापत्रमा सरकार गठन भएको एक सय दिनमा सहकारीमा फसेको साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने वाचा गरेको छ । बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने रास्वपाको भनाइ छ ।

वाचापत्रमा भनिएको छ, ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं। बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एक एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौं, जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्ता देखि सुरु गरि भुक्तानीको दिने व्यवस्था गर्नेछौं। हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेछौं।’

त्यस्तै भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि वाचापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्