प्रहरी जवान तालिम केन्द्रमा मृत फेला

५ असोज -काठमाडौं, तालिम केन्द्र परिसरमा नेपाल प्रहरीका एक जना जवान मृत फेला परेका छन्। बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

 

शनिबार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन ।

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको छ। चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन्। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्