५ असोज- रौतहट, रौतहट प्रहरीले लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको छ । शनिबार गस्तीको क्रममा प्रहरीले गाँजा र गाडी बरामद गरेको हो ।
प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरी टोलीले राति इशनाथ नगरपालिका –८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ ।
तरकारी लोड भएको पिकअप गाडी मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरमा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।प्रहरीलाई देख्ना साथ गाडी चालक भागेपछि प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको थियो । एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको हो। माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।
गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्