२ साउन- काठमाडौं, केहि समय अगाडी ज्यान मुद्दामा सफाइ पाएका मोहम्मद अफताब आलमको ज्यान मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ ।
बम विस्फोट गरी व्यक्ति हत्याको मुद्दामा उच्च अदालत जनकपुर वीरगञ्ज अस्थायी इजलासले रौतहट जिल्ला अदालतको आदेश उल्ट्याउँदै १४ जेठमा आलमलाई सफाइ दिएको थियो । त्यसविरुद्ध पुनरावेदनमा जाने निर्णय महान्यायाधिवक्ता रमेश बडालले निर्णय गरिसकेका थिए ।
शुक्रबार सर्वोच्चमा पुनरावेदन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ताले जानकारी दिएका छन । पुनरावेदनमा बम विस्फोट भएको, घाइतेलाई जिउँदै लगेर इँटाभट्टामा जलाएको र साक्षीसमेत जीवितै रहेको दाबी गरिएको छ ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । २०६४ को संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहरीएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
तर, उच्च अदालतले संकलित सबुत प्रमाणबाट मोहम्मद अफताव आलामको घरमा बम विस्फोटको घटना भएको पुष्टि हुन नसकेको र घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओसी अफतावलाई ट्याक्टरमा हाली इँटाभट्टामा लगि पोलिएको ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आफ्नो फैसलामा भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्