दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गरिने

२९ चैत- काठमाडौं, चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका नाइके भनेर पक्राउ गरिएका दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने प्रहरीले बताएको छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।

घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीशको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्