अज्ञात पत्रमा आतंकपूर्ण अवस्थामा हस्ताक्षर गर्न लगाएर रवि निस्किए- नख्खुका जेलरको बयान

११ चैत-काठमाडौं, नख्खु कारागारका जेलर सत्यराम जोशीले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डर, धम्कीमा परेर छोडिएको बयान दिएका छन् ।

जाँचबुझ आयोगमा जोशीले भीडले डर, धम्की देखाएपछि अज्ञात पत्रमा हस्ताक्षर गरेको बताएका हुन् ।

‘म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौँ। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो,’ उनले बयानमा छन् ।

उनले लामिछानेलाई निकाल्ने उक्त अज्ञातपत्रमा डर, त्रासका कारण हस्ताक्षर गरेकाले त्यसको वैधानिकता नरहेको दावी गरेका छन् ।

यस्तो छ उनको बयान –

मिति २०८२ साल भदौ २३ र २४ गते म नियमित रूपमा आफ्नो कार्यालयमा उपस्थित थिएँ । भदौ २३ गते अवस्था सामान्य थियो । भदौ २४ गते बिहानैदेखि सामाजिक सञ्जालमा भड्काउने सामग्रीहरू देखिन थाले र कारागार वरिपरि अनधिकृत निगरानी बढ्न थालेपछि मैले प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखा तथा कारागार व्यवस्थापन विभागलाई जानकारी गराई आकस्मिक सुरक्षा बैठक बोलाएँ। उक्त बैठकमा भीड नियन्त्रण रणनीति, वैकल्पिक निकास योजना र समग्र सुरक्षात्मक तयारीका विषयमा छलफल गरियो ।

दिउँसो करिब १३स्४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले “रवि लामिछानेलाई छोड” भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरु गरे । भीडको अवस्था नियन्त्रणबाहिर जाँदै गएको देखेपछि मैले पुनस् प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई सेना परिचालन गर्न लिखित तथा मौखिक अनुरोध गरेँ, तर तत्काल थप सुरक्षा बल उपलब्ध हुन सकेन । करिब १३:५० बजे भीडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो ।

त्यस समयमा कारागारमा १२८१ जना कैदीबन्दीहरू थिए । भीडले रवि लामिछानेलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै मैले उहाँलाई अस्थायी रूपमा कारागारभित्रकै मनोसामाजिक अपाङ्ग वन्दी अस्पतालमा सार्ने निर्णय गरें । पछि उहाँले “भीडलाई सम्झाउने प्रयास गर्छु” भन्दै माइक माग्नुभयो। त्यसपछि सुरक्षाकर्मीहरूले उहाँलाई भीड समक्ष पठाए, तर भीडले उहाँलाई कारागारबाट बाहिर लग्यो । उक्त घटनाबारे मैले तुरुन्तै गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएँ ।

उहाँलाई बाहिर लगिएपछि भीड झन् आक्रोशित भयो । कारागार प्रशासनको अभिलेख कोठा र प्रहरी भवनमा आगजनी गरियो र प्रहरी तथा सशस्त्र प्रहरी दुवै पछाडि हट्न बाध्य भए । म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौँ। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो । पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।

प्रतिक्रिया दिनुहोस्