८ चैत -काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका-७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रूपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका-१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका-४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्