आमाको नामबाट ३३ जनालाई नागरिकता

५ चैत-पर्सा,  जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो एक महिनामा आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशन भएपछि बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने प्रावधान कार्यान्वयनमा आएसँगै कार्यालयले वितरण शुरू गरेको हो ।

कार्यालयका अनुसार फागुन ५ गतेदेखि तोकिएको मापदण्ड र आवश्यक कागजात पूरा गरेका नागरिकताविहीन व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता प्रदान गरिँदै आएको छ । नागरिकता प्राप्त गरेपछि सेवाग्राहीहरूले राहत महसुस गरेका छन् ।

वीरगञ्ज महानगरपालिका-११ का विजयकुमार साहले लामो समयसम्म नागरिकता नपाउँदा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै अब प्रशासनिक झन्झटबाट मुक्त भएको बताए । त्यस्तै, वीरगञ्ज-१३ का जुबैर अन्सारीले पनि नागरिकता प्राप्तिलाई ठूलो उपलब्धि भएको बताएका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार नयाँ नियमावलीले तोकेको मापदण्ड पूरा गरेका नागरिकलाई नागरिकता प्रदान गर्न थालिएको हो ।

उनले नागरिकताविहीन अवस्थामा अधिकारबाट वञ्चित रहेका नागरिकका लागि यो व्यवस्था महत्वपूर्ण राहत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्