३ चैत -वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी भने दोहोर्याएका छन् ।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भने । उनले भने, “धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”
यसैबीच, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताए । उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरे ।
संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको बताइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्