१४ फागुन -काठमाडौं, बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका पीडितहरू यतिबेला दोहोरो पीडामा छन् । एकातिर जीवनभरको बचत गुमेको चोट, अर्कोतिर रकम फिर्ता माग्दा सामाजिक बहिस्कारमा पर्न सकिने डर सोहि कारण पीडितहरू खुलेर बोल्नसमेत हिच्किचाइरहेका छन् ।
बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन् । तर उनी अहिले उक्त विषयमा बोल्न चाहँदैनन् ।

“धेरै नेता गुहारियो, सरकारलाई भनियो, बोलेर थाकियो, अब शान्त बस्नु नै ठीक लाग्छ,” उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “आफूले पाउनु पर्ने रकम माग्दा नै समाज खनिन्छ कि भन्ने डर छ ।”
सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका अध्यक्ष ओम गुरुङ हाल भैरहवास्थित कारागारमा छन् । उक्त मुद्दामा नाम जोडिएका रवि लामिछाने भने हाल राजनीतिक गतिविधिमा सक्रिय छन् । उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचन अभियानमा व्यस्त छन् ।
उम्मेदवारलाई ध्यानाकर्षण, तर ठोस आश्वासन छैन
बुटवलमा गठन भएको सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई रकम फिर्ता गराउने विषयमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझाइएका नेताहरूमा विष्णु पौडेल, चुन्न प्रसाद पौडेल, बासुदेव घिमिरे, गौरव बोहोरा, विश्वदिप पाण्डेय लगायत रहेका छन् । त्यसैगरी रास्वपाका उम्मेदवार सुलभ खरेल र लेखजंग थापालाई पनि पत्र बुझाइएको समितिले जनाएको छ । पीडितहरूको भनाइमा, अधिकांश उम्मेदवारले सहानुभूति जनाए पनि रकम फिर्ता गराउने विषयमा ठोस प्रतिबद्धता दिएका छैनन् । रास्वपा उम्मेदवार खरेलले निर्वाचनपछि पहल गर्ने आश्वासन दिएको बताइएको छ ।
जीवनभरको कमाइ सहकारीमै अड्कियो
तिलोत्तमा–५५ वर्षीय भेषराज पौडेलले आफू र परिवारका अन्य सदस्यसहित करिब ३३ लाख रुपैयाँ सुप्रिम सहकारीमा बचत गरेका थिए । भारतमा रोजगारी गरेर जीवनभर कमाएको रकम सहकारीमा सुरक्षित रहने विश्वासमा जम्मा गरेको उनले बताए ।
“अब त्यो पैसा फर्किन्छ भन्ने आशा लगभग सकिएको छ,” पौडेलले गुनासो गरे, “भोट माग्न आउने नेताहरूलाई भनियो, तर ठोस जवाफ पाइएन् ।” तिलोत्तमाकै ड्राइभर टोलमा डेरी व्यवसाय गर्दै आएकी विमला शर्माले पनि ४२ लाख रुपैयाँभन्दा बढी बचत सहकारीमै गुमाएकी छन् । आन्दोलन र विरोध कार्यक्रममा सहभागी भए पनि न्यायको कुनै संकेत नदेखिएको उनको भनाइ छ । “अब न्याय पाउने आशा मरेको छ,” उनले निराशा व्यक्त गरिन् ।
मुद्दा विचाराधीन, पीडित प्रतीक्षामा
सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छन् । उनी पुर्पक्षका लागि थुनामा रहेर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिल गरेपछि हाल बाहिरैबाट मुद्दा लडिरहेका छन्। मुद्दाको अन्तिम छिनोफानो हुन बाँकी छ ।
पीडितहरू भन्छन, राजनीतिक शक्ति र सामाजिक दबाबका कारण आफूहरू खुलेर आवाज उठाउन डराइरहेका छन् । सामाजिक सञ्जालमा हुने अभद्र टिप्पणी र गालीगलौजले झन् त्रसित बनाएको उनीहरूको गुनासो छ ।
निर्वाचनको माहोल तातेका बेला दलहरू आ–आफ्ना चुनावी प्रतिबद्धतामा व्यस्त छन् । तर सुप्रिम सहकारी पीडितहरू भने अझै पनि आफ्नो जीवनभरको बचत फिर्ताको प्रतीक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्