साम्बाको उपचारका लागि २४ घण्टामै डेढ करोड बढी खर्च जुटेपछि अब रकम नपठाउन आग्रह

१२ फागुन- काठमाडौं, पर्याप्त रकम संकलन भएको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनुहुन अनुरोध गर्दछु ।”

साम्बा हाल आबद्ध रहेको न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सले पनि उनको शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गरी उपचारमा सहजीकरण गरिरहेको छ । कतारमा रहँदा त्यहाँका विभिन्न व्यक्ति तथा संस्थाले पनि सहयोगको वाचा गरेको उनले बताएकी छन् । छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन् ।

चोटका कारण शारीरिक र मानसिक रूपमा थकित बनेकी साम्बालाई समर्थकको अभूतपूर्व साथले फेरि उठ्ने साहस दिएको छ । खेलाडीका रूपमा आफूले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि नभई समर्थकको माया र भरोसा भएको उनको भनाइ छ ।

“आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिनँ,” उनले भावुक हुँदै भनेकी छन्, “यो चोटले मलाई थकाएको थियो, तर तपाईंहरूको साथले म एक्लो छैन भन्ने विश्वास दिएको छ ।”

साम्बाले समर्थकहरूको यो मायाको साँचो जवाफ आफ्नो पुनरागमन हुने बताएकी छन् । शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्ने वाचा गर्दै उनले दृढ संकल्पका साथ भनेकी छन्, “म अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन, तपाईंहरूको मायाको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ ।”

आफ्नो उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग नगरेको दाबी गर्दै भण्डारीले सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेकी थिइन् । उनले सहयोगका लागि अनुरोध गरेपछि कन्टेन्ट क्रियटर, इन्फ्ल्युन्सर लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले रकम सहयोग गर्न आह्वान गरेका थिए । केहीले लाइभ च्यारिटी शो समेत सञ्चालन गरेका थिए ।

https://www.facebook.com/share/p/1AgaYyU3wQ/

प्रतिक्रिया दिनुहोस्