काठमाडौँ- निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा शिक्षक, प्राध्यापक र कर्मचारीहरू संलग्न भएको पाइएमा पदबाट हटाउनेसम्मको कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै केही शैक्षिक क्षेत्रका व्यक्तिहरू राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारमा लागेको उजुरी प्राप्त भएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सचेत गराएका हुन्।निर्वाचन आचारसंहिता २०८२ को दफा १० ले विद्यालय वा विश्वविद्यालयमा सम्बद्ध शिक्षक तथा कर्मचारीलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसार गर्न पूर्णतः रोक लगाएको आयोगले जनाएको छ
शिक्षा ऐन २०२८ को व्यवस्थालाई स्मरण गराउँदै शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको पाइएमा पदबाट हटाइने प्रावधान समेत स्पष्ट पारिएको छ। आयोगले शैक्षिक संस्थाका भवन, सवारीसाधन वा अन्य सामग्री कुनै पनि राजनीतिक कार्यक्रम वा सभाका लागि प्रयोग गर्न दिनुलाई समेत आचारसंहिताको गम्भीर उल्लंघन मानेको छ।
आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र निर्वाचन कार्यालयहरूलाई यस विषयमा सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ।आचारसंहिता विपरीतका गतिविधिमा सामेल भएको पाइएमा दफा ४८ बमोजिम कडा कानुनी कारबाही गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्