अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

२५ मंसिर -कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी डेरा गरी बस्ने वेदकोट नगरपालिका-४ बगुन घर भएका २८ वर्षीय सुनिल बिष्ट समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय हेमन्त धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ टुटेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ एम्पुल सहित गोदावरी नगरपालिका-४ बडिखेल बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-५ नव प्रतिभा टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय अमृत थापा र २६ वर्षीय मिलन महतो रहेका छन् । सप्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित भारत दार्जलिङ बस्ने ६१ वर्षीय गोपाल बैधलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६७८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-११ मंगलबारे चोक बस्ने २४ वर्षीया रोशनी राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ६५ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्