३० भदौ- जनकपुर, भदौ २४ गते साँझ ७ बजे जनकपुरमा रहेको प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उनिहरुले त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीको एसएलआर राइफलसमेत लुटेका थिए ।
जनकपुर–९ स्थित भाडाको घरमा रहेको मधेश प्रदेश लोकसेवा आयोगको कार्यालय भित्र प्रवेश गरेर चारपांग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सीसीटीभी क्यामरा र कार्यालयमा तोडफोड गर्दै आगजनी गर्नेमध्ये जनकपुर–९ का ३७ वर्षका मनिषकुमार अधिकारी र वर्ष २१ का सन्तोषकुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस नोटबाट जनाएको छ ।
उनीहरूले कार्यालयमा सुरक्षार्थ खटिएको नेपाल प्रहरीसँग रहेको एसएलआर राइफल एक थान, गोली राउन्ड ५० समेत लुटपाट गरी लगेकोमा अनुसन्धानको क्रममा बिभिन्न स्थानको फुटेजको विश्लेषण गरी खोजतलास गर्दा अधिकारी र यादव पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एसएलआर राइफल फेला परेको र अन्य लुटपाटको मामिलामा अनुसन्धान भइरहेको धनुषा प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्