१९ भदौ -सुर्खेत, ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। उनिहरुले सामाजिक सञ्जालमार्फत नक्कली विवाह गराइ ठगी गरेको पाइएको छ । उनीहरूलाई प्रहरीले भदौ १७ गते वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बसोबास गर्दै होटल सदाशंकरका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाद गाउँपालिका–३ का स्थायी बासिन्दा भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्। उनीहरूलाई प्रहरीले वीरेन्द्रनगर–१० बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।
फेसबुकलगायत माध्यमबाट सम्पर्क गरी नक्कली आमा–बुवा तथा छोरी बनेर विवाह गर्ने मनसायले विभिन्न पुरुषसँग विवाह गर्ने र विवाह पश्चात बेहुली बनेकी महिलाले नगद तथा सुनचाँदीका गरगहना लिएर बेपत्ता हुने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको छ।
अनुसन्धानका क्रममा फरक–फरक मितिमा एउटै महिलासँग विभिन्न पुरुषहरूलाई विवाह गराइ ठगी गरिएको खुलेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिमाथि हाल ठगी तथा आपराधिक लाभसम्बन्धी सुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्