१६ भदौ- बझाङ, निम्न माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक धुर्ब बहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार भएको छ। घटना बझाङ जिल्लाको मस्टा गाउपालिका – १ रनाडा स्थित माइतिबनको हो।
अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेको छ। जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। रोकायाको घर खप्तडछान्ना–३ सिप्टिकोटमा पर्छ।
प्रहरीका अनुशार अत्यधिक मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएको छ। तर पीडित परिवारले सामान्य लडाइँले त्यस्तो गम्भीर घाउ नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
घाइते रोकायाले भने घटनाबारे बयान दिंदै, दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्