पहिरोले घर पुरियो, एकजना घाइते, १३ पशु मरे

१६ भदौ- बैतडी, सुर्नया गाउँपालिका–२ चौपातामा वर्षासँगै खसेको पहिरोका कारण एक घर पुरिएको छ।

 


आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएकी छन। घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको छ।

 

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका छन। यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ।


घरमा अन्य मान्छे नभएकाले थप मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्