मोबाइल चोरीको आरोपमा कुटपिमा एक युवाको मृत्यु

१५ भदौ -वीरगञ्ज, मोबाइल चोरीको आरोपमा कुटपिमा एक युवाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका(४ बहादुरपुरका २८ वर्षीय नसिव बैठा रहेका छन ।
उनको भदौ ११ मृत्यु भएको हो ।

 

१६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवासंग मिलेर नसिवमाथि कुटपिट गरेका थिए । यो घटना १६ र १७ साउनको रहेका मृतकका भाइ दर्शन बैठले बताएका छन ।

 

त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरेका थिए।

 

‘रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकलको चैन, मुक्काले कुटपिट गरी मोबाइल चोरी गरेको स्वीकार्न लगाए । कुटपिटमा सञ्जय, विजय र उनका बुबा शिवनाथ यादवसमेतले निर्घात कुटपिट गरेका थिए ।

 

त्यसरी कुटपिट गरिरहेको देखेपछि स्थानीयले कटहरिया प्रहरी चौकीमा फोन गरे । प्रहरी आएर नसिवलाई उद्धार गरी लग्यो । प्रहरी चौकीमा छलफल भयो । तर नसिवले मोबाइल चोरी गरेको पुष्टि भएन ।त्यही दिन साँझ नसिवलाई प्रहरीले छोडिदियो ।

 

सञ्जयको मोबाइल घरमै फेला परेको थियो । त्यसको भोलिपल्टबाट कुटपिटको कारणले नसिवलाई पेट र छाती दुख्न थालेको थियो ।चार दिनपछि नसिवका बुबा बाबुलाल बैठाको मृत्यु भयो । कुटपिटको असरले शरीरमा दुखाइ बढ्दै थियो । बुबाको काजकिरिया सकेपछि नसिवलाई उपचारको लागि भदौ पहिलो साता कटहरियाको जीवन ज्योति अस्पताल लगियो । त्यहाँबाट कटहरिया हस्पिटल लगियो । त्यहाँबाट गौर अस्पताल पठाइयो ।

 

गौर अस्पतालमा छातीमा इन्फेक्सन भएर पिप जमेको भन्दै थप उपचारका लागि वीरगञ्ज रेफर गरियो । नारायणी अस्पतालमा आईसीयू बेड खाली नभएपछि वीरगञ्जकै स्पोर्ट हस्पिटलमा उपचारको लागि भर्ना गरियो ।

 

उपचारको क्रममा ११ भदौ बुधबार बिहान ३ बजे नसिवको मृत्यु भएको भाइ दर्शनले बताए । त्यही दिन नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टमपश्चात् घर ल्याएर नसिवको अन्त्येष्टि गरिएको थियो । नसिवका ७ वर्षीय जेठा छोरा विशाल किरिया बसेका छन् ।

नसिवको मृत्युपश्चात् उनको परिवारले चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको छ । जाहेरीको आधारमा चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जसमध्ये ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको र अन्य तीनजनाको खोजी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्