नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटियो

१३ भदौ- विराटनगर, नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । मोरङको बुढीगंगामा शव बगि रहेको थियो ।

बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८ः३० बजेतिर शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन ।

 

मृतक स्थानीय नभएर कतै टाढाबाट नरहले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । महिलालाई नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट टोलीले घटनास्थल पुगेको पानीबाट बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको थियो ।

मृतकको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरिसकिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो कि मृत्युको अरु कुनै कारण छ भन्ने विषय थप अनुसन्धानबाट मात्रै यकिन हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्