स्वास्थ्यकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

१२ भदौ- हुम्ला, स्वास्थ्यकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

ताजाकोट गाउँपालिकास्थित एक स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई प्रहरीले महिला स्वास्थ्यकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

 

उनीहरूमाथि १० भदौको रातमा एक स्वास्थ्य संस्थामा कार्यरत महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । ताजाकोटमा स्वास्थ्यसम्बन्धी काम गर्दै आएकी ती महिलाको कोठामा गएर उनीहरूले अपशब्दसहित यौन दुर्व्यवहार गरेको आरोप उनिहरुमाथी लागेको छ ।

 

उनीहरूले अपशब्दसहित यौन दुर्व्यवहार गर्न खोजेपछि ती महिलाले आफू कार्यरत संस्थाको काठमाडौं कार्यालयमा जानकारी गराएकी थिइन् । कार्यालयले जिल्ला प्रहरी कार्यालय हुम्लालाई फोन गरेर घटनाका विषयमा जानकारी गराएपछि तीनै जना पक्राउ परेका हुन् ।

रातको करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्धक बनाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले राति नै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आरोपितहरूले मदिरा सेवन गरेको खुलेको छ ।

 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्