सुदूरपश्चिममा गौरा पर्व आजदेखि सुरु

१२ भदौ-  डडेल्धुरा, सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ।

 

पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा ९पाँच प्रकारका अन्न तथा गेडागुडी० भिजाएर गौराको सुरुवात गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ। गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ। गौरा महिलाहरुको ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गर्छन । गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास गरिएको छ।

 

आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ। प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ।

प्रतिक्रिया दिनुहोस्