करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जले

११ भदौ- काभ्रेपलाञ्चोक, करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् ।घटना सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्मको हो । फार्मको आगो निभाउने क्रममा एक व्यक्ति घाइते समेत भएका छन् ।

 

बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा फार्ममा रहेका ८५ बाख्रामध्ये ५० बाख्रा जलेर मरेको ६ वटा घाइते तथा २९ वटाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेकाले चौतारा अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्